गोली हानी एक सुनचाँदी व्यवसायीको हत्या

काठमाडौँ । चैत २९, सिरहाको लहानमा डाकाको समूहले एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेको छ ।
लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ ।
डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए ।
उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । अनिताको लहान अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको छ । अर्का एकजनालाई पक्राउ गरे पनि प्रहरीले उनको नाम भने खुलाएको छैन ।