माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति स्थापना गरिँदै

सहयात्रा टिभी

काठमाडौँ । वैशाख ८, रामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा राम सीताको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित हिजो त्यसतर्फ लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो ।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । रथयात्रा समूह हिजो देवघाटमै बास बसेको थियो ।

श्रीरामनवमीका दिन बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ । बुधबार मध्याह्न १२ : ३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उहाँले सुनाउनुभयो । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्