भरतपुर महानगर स्मार्ट सिटीको सूचीबाट हट्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, आ.व.२०७४/७५ मा भरतपुर महानगरसहित देशका १० सहरलाई स्मार्ट सिटी बनाउने घोषणा सरकारले गरेको थियो । तर हाल स्मार्ट सिटीको प्राथमिकतामा भरतपुर महानगरलाई नपारेपछि सरकारको आलोचना सुरु भएको छ ।

अकस्मात, चितवनको भरतपुर, सिराहाको मिर्चैया, कैलालीको टिकापुर, बाराको निजगढ र गोरखाको पालुङटारलाई पाखा लगाउँदै ४ वटा नयाँ थप गरी १२ वटा सहरलार्ई स्मार्ट सिटीका रुपमा विकास गर्न खोजिएको छ । प्रतिपक्षी दलबाट नेतृत्व लिएका स्थानीय तहलाई सरकारले पाखा लगाएको आरोप गरीइको छ ।

भरतपुर महानगरका मेयर रेनु दाहालले बजेट पार्नुपर्ने बेलामा महानगरलाई पाखा लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । २०७५ सालतिर छनोट हुँदा उच्च प्राथमिकतामा परेको भरतपुरलाई विना कारण हटाएको आरोप लगाइन् ।

स्थानीय तहको चुनावमा भरतपुरमा स्मार्ट सिटीको नारा खुबै चर्चामा थियो । ५, १० र २० वर्षे रणनैतिक र नीतिगत योजनाका रूपमा स्मार्ट सिटीको गुरुयोजनालाई लिने गरिन्छ । गुरुयोजना पूरा गर्न हरेक स्थानीय तहलाई करिब १५ अर्ब बढी बजेट चाहिने अनुमान थियो ।

भरतपुर महानगरका अर्वान प्लानर अस्मिता खनालले स्मार्ट सिटीको गुरुयोजनाको मस्यौदा प्रतिवेदन बनाउने र घरधुरी सर्वेक्षणको काम सकिएको जानकारी दिइन् । उनका अनुसार केही दिनमै गुरुयोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको छ । स्मार्ट सहर गुरुयोजनाले दीर्घकालीन भौतिक पूर्वाधार, सामाजिक, सांस्कृतिक, संस्थागत, वातावरणीय व्यवस्थापन प्रकोप व्यवस्थापन, जलवायु परिवर्तनलगायतका योजनालाई समेट्नेछ ।

कांग्र्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विकासका एजेण्डामा राजनीतिक पूर्वाग्रही बन्न नहुने बताए । “विगतमा छनोट गर्ने, अहिले छाडेर हिँडिदिने काम राम्रो होइन,” उनले भने, “भरतपुर स्मार्ट सिटी बनाउन उपयुक्त महानगर हो ।” उनले भरतपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न जनप्रतिनिधिले समेत ३ वर्षमा उल्लेख्य भूमिका खेल्न नसकेको आरोप लगाए ।

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्