भूकम्पबाट क्षतिग्रस्त भएको स्वयम्भूमा अबस्थित गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौं । बैशाख ११, वि.स. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको स्वयम्भूको महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष तथा स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको बताए।
यस कार्यको लागि कर्मराज महाविहार (गुम्बा) का १७ औं अवतारी गुरू कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक भार ब्यहोरेका थिए। पुनर्निर्माण भएको महाविहार (गुम्बां) र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताए।