मुलुकका विभिन्न जातजाति र समुदायको खानाको परिकार अध्ययन गर्दै नाथम

काठमाडौं । बैशाख ११, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संशाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय बनाएको छ ।
विस २०२९ चैत १३ गते स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको प्रतिष्ठानले पर्यटन क्षेत्रको जनशक्ति विकाससम्बन्धी स्नातकोत्तर तहसम्मको अध्ययन, अनुसन्धानका साथै परामर्श सेवासमेत प्रदान गर्दै आएको र हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई गुणस्तरीय स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको कार्यकारी निर्देशक दीपककुमार थापाले बताए ।
नाथमले झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरी सकेको छ । प्रतिष्ठानले हिमाल आरोहण भरिया तालिम, पर्यटक पथप्रदर्शक तालिम, घरबास सञ्चालन तालिम, साना तथा लज व्यवस्थापन तालिम, स्थानीय पथप्रदर्शक, पाहुना आतिथ्य तथा खाना गुणस्तर सुरक्षा, आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना पकाउने,स्वागत तथा आतिथ्य प्रदान गर्ने, ट्राभल एजेन्सी सञ्चालन गर्ने, टिकट बुकिङ गर्ने जस्ता विभिन्न तालिम प्रदान गरिरहेको छ ।
मुलुकका ७७ जिल्ला, ७५३ स्थानीय तह र सातै प्रदेशका सबै जातजाति र भाषाभाषीका स्थानीय नेपाली खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।
त्यसैगरी, मुलुकको पर्यटकीय नगरी पोखरामा पर्यटन तालिम केन्द्र, सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङ स्कूल र नुवाकोटको ककनीमा टुरिजम रिसर्च सेन्टर स्थापना गर्ने कार्यमा सहयोग गरिदिन प्रतिष्ठानले संसद् र सरकारसँग आग्रह गरेको छ ।