बागलुङ र डोटीमा आज रातिबाट निषेधाज्ञा

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २१, बागलुङ र डोटीमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

काठमाडौँको भद्रकाली क्षेत्रमा सुरक्षाकर्मीको चेकिङ । फाइल तस्वीर

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।

यस्तै, कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।

समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् ।

कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्