फलामे डण्डीको भाउ आकाशियो, यता सिमेन्टको मूल्य पनि बढ्ने क्रममा

काठमाडौं । बैशाख २२, देशका आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा हुँदा निर्माण सामग्रीको मूल्य भने आकाशिएको छ ।
बैशाख, जेठ र असार महिनामा विकास बजेटको ३० प्रतिशत रकम खर्च हुने भएपनि बैशाखमै निषेधाज्ञा हुँदा विकास आयोजनाको काममा पनि बाधा पुगेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माणजन्य बस्तुको उत्पादन गर्ने उद्योगीहरुले निषेधाज्ञा नभएका जिल्लामा निर्माण सामग्री पठाउँदा मूल्य बढाएर पठाएको र यसले निर्माण व्यवसायीहरु समस्यामा परेको गुनासो गरेका छन् ।
त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार काठमाडौँमा निषेधाज्ञा हुनासाथ फलामे डण्डीको मूल्य बढेको बताउँछन् । उनका अनुसार फलामे डण्डीको मूल्य पछिल्लो एक हप्तामै ३५ प्रतिशत सम्मले बढेको छ । पहिला डण्डी ८० देखि ८५ रुपैयाँमा पाइन्थ्यो भने अहिले ११० सम्म पुगिसकेको छ ।
यता सिमेन्टको भाउ पनि बढ्ने क्रममा छ । हाल पीपीसी सिमेन्टको उत्पादन लागत प्रति बोरा (५० किलोग्राम) ६ सयभन्दा तल र ओपीसी एक बोराको उत्पादन लागत ७ सयभन्दा तल छ ।