हुम्लामा हवाई उडान पुनः संंचालनमा

हुम्ला । बैशाख २४, जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गए खाद्यान्न संकट पर्न सक्ने भएकोले जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।
बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले गरेको हो ।
जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो भने गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो ।