दोस्रो चरणको चक्रपथ विस्तार प्रभावित

काठमाडौं । बैशाख २७, कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्न थालेका कारण निशेधाज्ञा जारी भएपछि चक्रपथ विस्तारको दोस्रो (कलंकी–चाबहिल खण्ड) चरणको काम प्रभावित भएको छ ।
हाल साइट क्लियर हुन लागेको बाँकी रहेको छोडेर चिनियाँ निर्माण कम्पनीलाई पत्राचार गरेको भए पनि कोभिड–१९का कारण तत्काल केही औपचारिक जानकारी नदिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
त्यस्तै कलंकी–महाराजगन्ज–सुकेधारा पुलसम्मको साइट क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भने महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको साइट क्लियर हुन बाँकी रहेको छ भने सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्ने छ ।
चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइट क्लियर गरेर दिएपछि डिजाइन गरी विस्तार गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरिसकेको छ । उक्त सडकखण्डको करिब ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
गत असोजमा मन्त्रालयमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगन्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको थियो ।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक/एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । एजेन्सरुहरुको साथमा।