कोरोना रोकिने विश्वासमा देवीलाई बलि दिईयो

जाजरकोट । जेठ २, कोराना रोकथाम हुने विश्वासमा जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरमा कालिका माई लाई बलि (बोका) चढाइएको छ ।
त्यस्तै उक्त क्षेत्रमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए ।
यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए ।
हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको शरणमा गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।