हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो

सिमकोट । जेठ ४, हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।
पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको परीक्षण गर्दा संक्रमितको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ ।
त्यसैगरी खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले संक्रमित नभेटिएको हो ।
हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।
ताँजाकोटमा हालसम्म ९८ जनामा परीक्षण गर्दा २९ मा संक्रमण पुष्टि भएको छ भने अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।
जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।