देशमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं । जेठ १२, नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।
तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थप भएका छन् ।
नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको बताईएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ भने एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोगकर्ता थपिएका छन् ।
त्यसैगरी, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गत माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन् । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए ।
यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडिएसएलका आठ लाख १२ हजार र एफटिटिएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।