प्रमको आदेशमा अग्रवाल र भट्टको कम्पनीलाई पुनर्बीमाको लाइसेन्स

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, बीमा समितिले प्रक्रियागतरुपमा प्रस्ताव गर्ने चार कम्पनीलाई पाखा लगाएर पछि घुसाइएको कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स प्रदान गरेको छ ।

त्यस्तै सोमबार समितिले हिमालयन पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । प्रधानमन्त्रीबाट दबाब आएपछि समितिले बाध्य भएर हिमालयनलाई पुनर्बीमाको लाइसेन्स दिएको स्रोतले बताएको छ । राजनीतिक तहमा ठूलो प्रभाव र पहुँच राख्दै आएका केदार दीपक भट्टले आफ्ना दाई सुशील भट्टलाई पनि लगानी बोर्डको सीईओ बनाएका थिए ।

त्यसैगरी हिमालयनमा सुलभ अग्रवालसहितका उद्योगी व्यापारीको लगानी रहेको छ । सुलभ गत बर्ष स्वास्थ्य उपकरण (थर्मल गन) कालोबजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । सुभलबाहेक हिमालयमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर, महासंघकी पूर्वअध्यक्ष भवानी राणा, अर्का पूर्वअध्यक्ष पशुपति मुरारकालगायतको लगानी रहेको छ ।

त्यस्तै लाइसेन्स दिनुअघि सुरुका चार कम्पनीका कुनै पनि व्यक्तिलाई समितिले बोलाएर सोध्ने काम गरेको देखिन्न ।

मापदण्डका हिसावले हिमालयनभन्दा अन्य कम्पनी अगाडि भए पनि उनीहरूलाई पन्छाएर हिमालयनको प्रस्तावलाई स्वीकृत गरिएको हो । मूल्यांकन र मापदण्डको नाटक गरेर हिमालयनलाई लाइसेन्स दिइएकाले आफूहरू अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने विषयमा छलफल गरिरहेको जनाईएको छ।

समितिले गत बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म पुनर्बीमाका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको थियो । त्यस क्रममा अन्नपुर्ण, काठमाडौं, प्रुडेन्सियल, जेन्युन गरी चार कम्पनीले प्रस्ताव पेश गरेका थिए । पछि हिमालयनलाई प्रवेश गराइएको थियो । समितिका निवर्तन अध्यक्ष चिरञ्जीवी चापागाईंकै पालामा पुनर्बीमाको लाइसेन्स दिने तयारी गरिए पनि ठूला शक्तिहरू लागेपछि उनी लाइसेन्स दिनुअघि नै अध्यक्षबाट अवकाश भएका थिए । चिरञ्जीवी माओवादी केन्द्र निकटका व्यक्ति हुन् ।

त्यसअघि अध्यक्ष हुन आएका सूर्य सिलवालले नयाँ ढंगबाट लाइसेन्स दिने काम अघि बढाएका थिए भने प्रधानमन्त्रीले नै चासो देखाएपछि उनले पूराना प्रस्तावहरूलाई पाखा लगाएर हिमालयनलाई लाइसेन्स दिन बाध्य भएका हुन् ।

त्यस्तै प्रस्ताव पेश गर्नेमध्ये काठमाडौंमा नेपाल बैंकलगायत आठ वटा बाणिज्य बैंक, आठ वटा वित्तीय संस्था र बीमा कम्पनी, वसन्त चौधरी, राजेन्द्र खेतान, प्रभु ग्रुप, पवन गोल्याण समूह, शिवम सिमेन्ट ग्रुप, सारडा ग्रुप, महालक्ष्मी लाइफ ग्रुप, बतास ग्रुप, एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टलगायत २४५ भन्दा बढि समूहको लगानी गर्न तयार भएका थिए ।

सबैभन्दा पहिला पुनर्बीमाको लाइसेन्सका लागि चासो देखाउने अर्को कम्पनी अन्नपुर्णमा बैंक वित्तीय संस्थाको नौ प्रतिशत, बीमा कम्पनीहरूको छ प्रतिशत, निजी क्षेत्रका कम्पनीहरूको नौ प्रतिशत, अन्य व्यक्तिगत लगानीकर्ताको ३१ प्रतिशत लगानीको प्रतिवद्धता थियो ।

यसका व्यक्तिगत तथा संस्थागततर्फका प्रमुख सेयरधनीहरूमा एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे, सारडा ग्रुप, वीरेन्द्र महतो, भाटभटेनी (मिनबहादुर गुरुङ), अन्जन श्रेष्ठ लगायतको लगानी रहने बताईएको थियो ।

त्यस्तै, जेन्यूनमा बीमा समितिका पूर्वप्रशासक, म्यानपावर व्यवसायी, विद्यालयक सञ्चालक लगायतका समूहको लगानी रहने जनाइएको थियो ।

प्रुडेन्सियलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका चन्द्र ढकालसहितको व्यवसायिक घरानाले लगानीको प्रस्ताव गरेको थियो । ढकालबाहेक विशाल ग्रुपको पनि लगानी रहने जनाइएको थियो ।
एजेन्सीहरुको सहयोगमा ।

 

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्