दोस्रो लहरको कोरोनाबाट हालसम्म डेढ सय बढीको मृत्युः कञ्चनपुर

कञ्चनपुर । जेठ २६, दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १२२ पुरुष र ५४ महिला गरी १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ । भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।
त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परीक्षणबाट पाँच हजार ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार ३५९ पुरुष र एक हजार ६५२ महिला छन् । पिसिआरबाट कोरोना देखिएकामध्ये हाल ३८५ सक्रिय सङ्क्रमित छन् । अन्य सबै उपचारपछि घर फर्किएका छन् ।
एन्टिजेन परीक्षणबाट भीमदत्तमा ५८३, दोधारा चाँदनीमा ३५७, वेदकोटमा १०६, शुक्लाफाँटामा ५४, कृष्णपुरमा ८७, पुनर्वासमा ३०३, बेलौरीमा ९६ र बेलडाँडीमा ४६ जनामा सङ्क्रमण देखिएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा गरिएको परीक्षणमा ५४० जनामा कोरोनाको सङ्क्रमण देखिएको बताईएको छ ।
स्थानीय तहअनुसार पिसिआर परीक्षणबाट भीमदत्तमा सबैभन्दा बढी दुई हजार २८८ जनामा कोरोना देखिएको छ । त्यसपछि वेदकोटमा ५६१, शुक्लाफाँटामा ४४८, बेलौरीमा ४३९, कृष्णपुरमा ४३५, पुनर्वासमा ३२९, दोधारा चाँदनीमा १४९, बेलडाँडीमा ९५ र लालझाडीमा ६७ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट दुई हजार २२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये हाल २२६ सक्रिय सङ्क्रमित छन् । एजेन्सीहरुको सहयोगमा ।