आज चार वटा प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । असार २५, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश ठाउँमा वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाले आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्म/भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।