नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको ङातापोल बनेको ३१९ वर्ष पूरा

भक्तपुर । असार २७, नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिर निर्माण भएको आज(आइतबार) ३१९ वर्ष पूरा भएको छ।
मन्दिर निर्माण पूरा भएको दिनको सम्मानमा आइतबार वर्षबन्धन पूजा गरिएको छ।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल मन्दिर नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ।
सोही इतिहासलाई आधार मानेर प्रत्येक वर्षको असार शुक्ल प्रतिपदाको दिन छाग (बोका) तथा हाँसको बलि दिएर वर्षबन्धन पूजा गरिँदै आएको छ।
मन्दिर भक्तपुर तलेजुअन्र्तगत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ। मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानबाट व्यवस्थापन भइरहेको छ। मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले उक्त मन्दिरमा वर्षबन्धन पूजा र दसैंको महानवमीमा बाहेक अरु बेला बलि दिएर पूजा नहुने जानकारी दिए।
भक्तपुर तलेजुका राजोपाध्याय, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्ष बन्धन पूजा गरिन्छ।