आजदेखि देशभर भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ । साउन २२, आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ ।
भेरोसेल खोपको पहिलो डोज लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
डा. खड्काका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाउनेको संख्या १ लाख ६५ हजार पुगेको छ ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।