तीनकुनेको वाग्मती पुल फेरि नयाँ डिजाइनमा

काठमाडौं । साउन २९, झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ ।

‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो ।
सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।
सडक विभागले वि सं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले बताएको छ ।
पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताए ।