भोलिदेखि भूपूगोर्खाले अनशन बस्ने

काठमाडौं । भदौ ३, भूतपूर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनशन बसेको १२र्औ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके–नेपालले भोलिदेखि अनशन बस्ने चेतावनी दिएको छ ।
त्यस्तै संघर्ष समितिले बुधबार अनशनरतहरूको अवस्था, भावी रणनीतिलगायत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अध्यक्ष लालबहादुर घिसिङ (एलवी) ले १८ अगस्ट (आज) सम्म नेपाल र बेलायत सरकारबाट सकारात्मक पहल नगरे नेपालका नागरिक समाज, मानव अधिकारवादी, कानुनविद, बौद्धिक व्यक्तित्वहरूको साथ र सहयोग लिएर काठमाडौंमा भोलिबाटै विरोध ¥यालीलगायत अनशन र अन्य कार्यक्रमहरू सुरु गर्ने चेतावनी दिए ।
उनले भोलि माइतीघरबाट ११ बजेदेखि भद्रकाली हुँदै रिले अनशन सुरु हुने जानकारी दिए । उनले १८ वर्ष नाघेका सन्तानलाई आवासीय सुविधा, निःशुल्क औषधोपचार, समान पेन्सन र क्षतिपुर्तिलगायतका विभिन्न पाँच सूत्रीय माग राखी आमरण अनशनमा बसेको बताए ।
उनले साथीहरूको ज्यान जोखिममा परेको अवस्थामा सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताए । उनले पानीमात्र खाएर अनसन बसेका ज्ञान बहादुर राईको अवस्था अत्यन्तै गम्भीर रहँदासमेत सरकारले समस्या समाधान गर्न कुनै पहल नगरेको देख्दा उदेक लागेको बताए । उनले आफूहरूको माग पुरा गर्न बेलायत सरकारसमक्ष वार्ता गर्न उच्चस्तरीय समिति गठन गरी वार्ताको मिति तोक्न सरकारसँग जोडदार माग गरे । एजेन्सीको साथमा ।