कविता (स्वदेश प्रेम)

काठमाडौं । भदौ ८,
अन्योल र अशान्तिमा बाँच्न गाह्रो लाग्छ
तर मलाई मेरो देश साह्रै प्यारो लाग्छ ।
मैले सोचेँ दिगो देश विकास हुन्थ्यो होला
हाम्रा साझा समस्याको निकास हुन्थ्यो होला ।
कुर्सीमाथि चढ्ने कोही शासक बन्या देख्छु
जानी जानी लोकतन्त्र मासक बन्या देख्छु ।
सिमानामा छिमेकीको मनोमानी चल्छ
अप्ठ्यारोमा देश पर्दा मन भित्र जल्छ ।
जनताकै पौरखबाट रमाएका सबै
ठाउँमा बसी व्यवसाय समाएका सबै ।
जनतामा दुःखहरु झनै बढिराछन्
नेतृत्वले मतिष्कमा कुर्सी भरिराछन् ।
ठूलै जत्था सभाभित्र फुर्सदमा बस्छ
विपतिमा श्रमजीवी मान्छे मात्र फस्छ ।
साधारण जनतालाई ठूलो पिर हुन्छ
काम एकातिर कुम्लो ठिमीतिर जान्छ ।
समस्याको जड खोज्नु भयो मुख्य कुरा
अन्यायको विरोध गर्न बन्नु हुन्न लुरा ।
भाइचाराको सम्बन्धमा रिस फाल्नु पर्छ
सबै जना मिलिजुली देश टाल्नु पर्छ ।
सिमा रक्षा गर्नलाई सबै जुट्नु पर्छ
सार्वभौम अखण्डता बचाउनु पर्छ ।
राष्ट्र भक्ति सबैसामु देखाउनु पर्छ
यो देशको अस्तित्वलाई टिकाउनु पर्छ ।
–मन्जु सिवाकोटी