आजदेखि राष्ट्रिय जनगाणना

काठमाडौँ । भदौ ३०, १२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत आज घर तथा परिवार सूचीकरण शुरु हुँदै छ । त्यसका लागि केन्द्रीय तथ्यांक विभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ ।
सूचीकरणमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत भरिनेछ । ७७ जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको विवरण लिइनेछ । सूचीकरण आगामी असोज १८ भित्र सकिने विभागले जनाएको छ ।
निर्धारित तालिकाअनुसार मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ । त्यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामुदायिक प्रश्नावली भर्नेछन् ।