चीनबाट आज ४४ लाख खोप काठमाडौँ आइपुग्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज १, सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आइपुग्दै छ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो । एकैपटकमा यति ठूलो संख्यामा खोप आउन थालेको पहिलोपटक हो ।

यसअघि प्रतिभायल दुई डोजका दरले खोप आएकाले आठ लाखभन्दा बढी ल्याउन सकेको थिएन । तर, यसपटक एक भायलमा पाँच डोज भएकाले एकैपटकमा ४४ लाख ल्याउन सम्भव देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप शाखा प्रमुख दाहालका अनुसार आगामी असोज ४ गतेदेखि खोप लगाउन सुरु गरिनेछ । यसका लागि आजदेखि प्रदेश स्टोरमा वितरण हुनेछ । प्रदेशले जिल्ला र स्थानीय तहमा पठाएपछि खोप सुरु हुनेछ ।

सरकारले पछिल्लोपटक चीन सरकारसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो ​। जसमध्ये १६ लाख डोज आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप ल्याउन लागिएको हो।

हालसम्म नेपालमा भारतबाट कोभिसिल्ड २४ लाख ४८ हजार डोज, चीनबाट विभिन्न चरणमा ७४ लाख डोज भेरोसेल, अमेरिकाबाट १६ लाख जोन्सन एन्ड जोन्सन, जापानबाट १७ लाख ७७ हजार ३ सय २० डोज अस्ट्राजेनिका खोप आएको छ।

आगामी असोजमा गाभीमार्फत १ लाख डोज फाइजर खोप आउने बताइएको छ । जसको लागि फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा रेफ्रिजेरेटर कोभ्याक्स अन्तर्गत युनिसेफले दिइसकेको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोरोनाविरुद्धको खोप दिने भन्दै मोडर्ना र फाइजर खरिद गर्ने भएको छ । ४० लाख मोडर्ना र ४० लाख फाइजर खरिदका लागि सम्झौता प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्