आज विश्वकर्मा पूजा, यस्तो छ धार्मिक महिमा

काठमाडौँ । असोज १, आश्विन सङक्रान्तिका दिन आज कालिगढले विश्वकर्माको पूजा आराधना गरी मनाउदैँ छन् । विश्वकर्मा पूजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै विशेष पूजा गरी मनाउने चलन छ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आज धुमधामसगँ विश्वकर्माको पूजा आराधना गरी मनाउने गर्दछन् । यस्तै आज सवारीसाधन, मेसिनहरुको पनि पूजाआजा गरिन्छ ।
विश्वकर्मा पूजाका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास रहिआएको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआराधना गर्ने परम्परा बसेको किबदन्ती छ । यही सम्झनामा आज विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।
विश्वकर्माको अवसरमा केही समुदायले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद पनि चढाउने गर्दछन् । पूजा गरिएको मूर्तिलाई पुजाको भोलिपल्ट नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ ।
विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँनुहुन्छ । वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।