आज फूलपाती भित्र्याइदै

काठमाडौं । असोज २६, दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ ।
सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।
अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ ।
किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी (जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।