माटाका भाँडा बनाउन भ्याइनभ्याइ

सहयात्रा टिभी

काठमाडौं । १६ कात्तिक, तिहार भन्ने बितिक्कै हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ ।


झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन छ । पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको विशेष महत्त्व छ ।

तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ ।
दरबार भक्तपुर स्क्वायर, थिमी, बोलाछेँ, ब्यासीलगायत स्थानमा तिहारका लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।
तिहारको माहोल शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानका लागि प्रख्यात भक्तपुरका कुम्हाल समुदायका मानिस दिनरात पालासहितका सामान बनाउन व्यस्त छन् । एकजनाले राम्रोसँग काम गर्दा दिनमा १ हजार ओटासम्म पाला बनाउन सक्ने बताइन्छ ।

तिहारमा पाला बनाएर बेच्नेले ५०–६० हजारसम्म कमाउने गरेको सम्बद्ध व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला चार प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको १०० ओटाको २०० रुपैयाँ पर्छ । त्यस्तै त्यसभन्दा ठूलाको प्रतिगोटा क्रमशः १०, १५ र २० रुपैयाँ पर्दछ ।

कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको तीनओटाको ५ रुपैयाँ पर्छ । कतिपयले काँचो पालालाई चोखो मान्ने गरेको व्यवसायी बताउँछन् ।

पाला बनाउन झञ्झट हुने र कमाइ पनि तुलनात्मक रूपमा कम हुने भएकाले पछिल्लो समय यस समुदायका युवा पालाभन्दा अन्य सामग्री बनाउनेतर्फ आकर्षित हुन थालेका छन् । माटोको भाडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । एक पाला बनाउने अर्का व्यवसाय सञ्जय प्रजापतिका अनुसार पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै पनि हो ।

 

प्रकाशित : 2 November, 2021

प्रतिक्रिया दिनुहोस्