गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्न सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

काठमाडौं । ९ मंसिर, गोलाप्रथाबाट पेसी तोक्ने सहमति बनेपछि त्यसबारे निर्णय गर्न आज सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बस्दै छ । आगामी बुधबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय हुन सक्ने सम्भावना छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएकामा गत बिहीबारको फुलकोर्ट बैठकले सो तजबिजी अधिकार कटौती गरेको थियो । यो निर्णयसँगै सर्वोच्चमा गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था लागू गर्न लागिएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आउनु भएको छ ।
कानुन व्यवसायीहरुले जबराविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् । जबराले राजीनामा दिनु पर्ने उनीहरुको बटमलाइन रहेको छ ।