जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २७ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । १२ मंसिर, नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

तस्वीर : बामु देवकोटा

जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ । जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

प्रकाशित : 28 November, 2021

प्रतिक्रिया दिनुहोस्