बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । २१ मंसिर, बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको हो ।
बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन् । प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । तीन जनाको भने प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।