कांग्रेस सभापतिमा अब देउवा र कोइरालाबीच प्रतिस्पर्धा, तीन नेता निर्णायक

सहयात्रा टिभी

काठमाडौँ । २८ मंसिर, नेपाली कांग्रेसमा सभापतिको लागि आजै पुन: मतदान हुने भएको छ । दोस्रो चरणको चुनावमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिका पाँच उम्मेदवारबीच भएको पहिलो चरणको मतदानमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको जानकारी दिए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्‍याउन नसक्दा सभापतिको चुनाव दोस्रो चरणमा पुगेको हो ।

यस्तै, सभापति निर्वाचनमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कुल ४ हजार ६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले जानकारी दिए । देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गर्नु भयो । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ ।

कांग्रेस सभापतिको चुनाव दोस्रो चरणमा पुगेसँगै पहिलो चरणमा प्रतिस्पर्धाबाट बाहिरिएका तीन नेता निर्णायक बनेका छन् । पहिलो चरणका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दुई प्रतिस्पर्धी देउवा र कोइरालामध्ये कसलाई समर्थन गर्छन् भनेर महत्वका साथ हेरिएको छ ।

सिंह र निधिले यदि कोइरालालाई समर्थन गरेमा देउवालाई जितका लागि सकस हुने छ ।

देउवाले सिंहलाई फकाउन बालकृष्ण खाँणलाई बिहानै चाकसिबारी पठाएका छन् । सभापतिको चुनाव दोस्रो चरणमा पुगेसँगै कोइराला समूह भने उत्साहित बनेको छ ।

प्रकाशित : 14 December, 2021

प्रतिक्रिया दिनुहोस्