३ ट्रिलियन बजार भाउ पुग्ने पहिलो कम्पनी बन्यो एप्पल

काठमाडौं । पुस २५, एप्पल इन्कले सोमबार नयाँ विश्व रेकर्ड राखेको छ । स्टक बजारमा ३ ट्रिलियन डलरको बजार भाउ प्राप्त गर्ने यो दुनियाँकै पहिलो कम्पनी हो ।
यस्तोमा लगानीकर्ताहरुले आगामी वर्षहरुमा पनि कम्पनीले उत्कृष्ठ उत्पादनहरु लन्च गरिरहनेमा विश्वस्त रहेको जनाएका छन् । अहिले कम्पनी अटोमेटेड कार र भर्चुअल रियालिटी जस्ता नयाँ प्राविधिक क्षेत्रमा पनि प्रवेश गरिरहेको छ ।
आइफोन, म्याकबुक सहित एप्पल टीभी र एप्पल म्युजिकका सेवामा ग्राहकको आकर्षण अझै बढ्दै जाने अपेक्षासँगै एप्पलले दुनियाँकै सबैभन्दा मूल्यवान् कम्पनीको नाम पाएको छ ।
यो अत्यन्तै ठूलो उपलब्धी भएको हुँदा पक्कै पनि खुसीयाली मनाउनुपर्ने ओक्लाहामाको सम्पति व्यवस्थापनका प्रमुख जेक डलरहिडले बताए ।
यसअघि एप्पलले २ ट्रिलियन डलरको बजार भाउ गुगलसँगै कायम गरिराखेको थियो । यतिबेला गुगल इंकको मूल्य पनि २.५ ट्रिलियन पुगेको छ । त्यस्तै अमेजोन र टेस्ला इंकको बजार भाउ पनि १ ट्रिलियन रहेको छ भने साउदी अरेबियन ओइलको बजार भाउ १.९ ट्रिलियन डलर रहेको छ ।
बजारले बलियो ब्यालेन्स सिट भएका कम्पनीहरुलाई पुरस्कृत गरिरहेको वरिष्ठ ग्लोबल मार्केट विद् स्कट रेनको भनाइ छ ।