डायलसिसका लागि पालो कुर्दै मिर्गौलापीडित

सहयात्रा टिभी

काठमाडौं । माघ १५,सरकारले मिर्गौलापीडितका लागि निःशुल्क डायलसिसको सुविधा दिए पनि भोजपुर जरायोटारका ३२ वर्षीय ध्रुवराज राई साताको दुईपल्ट जमलको ग्रान्डीसिटी अस्पतालमा शुल्क तिरेर डायलसिस गराइरहेका छन् ।

उनी प्रत्येक साता सात हजार रुपैयाँ खर्चेर डायलसिस गराउँछन् । सरकारले दिने निःशुल्क डायलसिस सुविधामा पालो नआउने भएपछि उनी निजी अस्पताल धाउन बाध्य भएका हुन् ।

राईले निःशुल्क डायलसिसका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा नाम टिपाएका छन् । ‘मेरो नाम क्युमा छ, पालो आइहाल्ने देखिएन,’ उनले भने । राई मिर्गौला प्रत्यारोपणको तयारीमा जुटेका पनि थिए । तर कोभिड संक्रमणले प्रत्यारोपणको मिति पछि धकेलिएको छ ।

सरकारले २०७३ वैशाख देखि निःशुल्क डायलसिस गर्न थाले पनि स्रोत र साधन पर्याप्त जुटाउन नसक्दा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । जसको मारमा सयौं मिर्गौला रोगी परिरहेका छन् । तनहुँ व्यासका ७३ वर्षीय देवबहादुर गुरुङले ७ वर्षदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराउँदै आएका छन् ।

उनले पनि सरकारले दिने भनेको निःशुल्क डायलसिसका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम टिपाएका थिए । तर पालो तत्काल नआउने भएपछि पोखराकै एक अस्पतालमा तीन हजारका दरले प्रतिडायलसिस गराइरहेका छन् ।

प्रकाशित : 29 January, 2022

प्रतिक्रिया दिनुहोस्