हिमपात र आगलागीबाट चार जनाको मृत्यु, एक घाइते

काठमाडौं । माघ २३, गएको २४ घण्टामा हिमपातका कारण दुई जनाको मृत्यु भएको छ।
यस्तै, आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–७ बारा गाउँको माथि जंगलमा वर्ष ४० का एक पुरुषको हिमपातका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको छ।
सोही गाउँपालिका वडा नं ८ टोप्ला बस्ने एक महिला जंगली जडीबुटी सेतक चिनी खन्न गएको अवस्थामा चिसोको कारणले कठ्याङ्ग्रिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यता, खोटाङको जन्तेढुंगा गाउँपालिका–१ बस्ने वर्ष १८ की एक किशोरी घरभित्र आगो ताप्ने क्रममा कपडामा आगो सल्किई घाइते भएकोमा उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ।
यसैगरी सिरहाको कल्याणपुर नगरपालिका– ५ निर्दना बस्ने वर्ष ५५ की एक महिला आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किई मृत्यु भएको छ।
यसैगरी, धनुषा क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने वर्ष ५० की एक महिला खाना बनाउने क्रममा चुल्होबाट साडीमा आगो सल्किई कम्मरदेखि घुँडासम्म जली घाइते भएकी छन्। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम मा लगिएको छ।