मानव बेचबिखन तथा ओसारपसार मुद्दाका आरोपी २० वर्षपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २७, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट एक वर्ष ५ महिना कैद सजाय तोकिएका फरार आरोपी २० वर्षपछि बुधबार बेलुकी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतकाअनुसार आरोपी चौतारा साँगाचोकगढी नगर वडा ४, कुबिन्डे बस्ने ५० वर्षीय चोपनाथ नेपाललाई कुबिन्डेबाट पक्राउ गरिएको हो ।

उनलाई २०५८ साल पुसमा जिल्ला अदालतबाट नेपाललाई एक वर्ष ५ महिना कैद सजाय तोकिएको थियो । तर, सजाय तोकिएलगत्तै आरोपी फरार थिए । बुधबार लुकिछिपी बसेको सूचनाको आधारमा कुबिन्डे पुग्दा फेला पारेको डिएसपीले जानकारी दिए । ‘जिल्ला अदालतमा दाखिला गरिएको छ, अदालती आदेशनुरुप निजलाई कैद सजायका लागि कारागार कार्यालयमा चौतारा चलान गरिएको छ,’ उनले भने ।

त्यसैगरी मेलम्ची नगरपालिका वडा १० साँधीखोलाकी ५९ वर्षीया मिनकुमारी खड्काका हत्याका आरोपीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीकाअनुसार बुधबार बिहान ९ बजे आफ्नो घरभन्दा ५ सय मिटर परको जंगलमा घाँस काट्न गएकी खड्कालाई इन्द्रावती गाउँपालिका–४ टाकुरे तामाङटोलका ३२ वर्षीय कुमार तामाङले ढुंगा प्रहार गरेर हत्या गरेका थिए ।

घटना भएलगत्तै स्थानीयबाट सूचना पाएलगत्तै स्थलगत पुगेको प्रहरीले आरोपी तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान तीव्र बनाएको छ ।

प्रकाशित : 10 February, 2022

प्रतिक्रिया दिनुहोस्