महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । फाल्गुन ५, महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडिबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साइकलमा घर फर्केने क्रममा गए राति महतोलाई एम्बुलेन्सले ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।
दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।