राष्ट्रपति भण्डारीले गरिन् महाशिवरात्रिमा साधुसन्तलाई दिने सामग्रीको संकल्प

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १५ , शीतल निवासमा आज बिहान १०ः ३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बक्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उनले विधिपूर्वक संकल्प गरेकी हुन् ।

संकल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन् ।

प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन यी सामग्री संकल्प गर्ने विधि छ । यी सामग्री फागुन कृष्ण औँसीका दिन साधुसन्तको बिदाइका बेला दिइन्छ । फागुन कृष्ण त्रयोदशीको रात्रिमा महाशिवरात्रि पर्व मनाइन्छ । यसवर्ष महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार परेको छ ।

राष्ट्राध्यक्षबाट साधुसन्तलाई दिइने सामग्रीको संकल्पपछि आज बिहानदेखि नै पशुपति क्षेत्र र थापाथली, त्रिपुरेश्वर क्षेत्रका अखडामा भण्डारा सुरु गरिएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र बस्ने नागाबाबालाई भने आज बेलुकादेखि नै खानपिन र धुनीको व्यवस्था गरिने संस्थान पशुपति कार्यालय प्रमुख घिमिरेले जानकारी दिइन् ।

 

प्रकाशित : 27 February, 2022

प्रतिक्रिया दिनुहोस्