जाग्यो आत्मसम्मान तर सुध्रिएन आर्थिक स्तर

सहयात्रा टिभी

काठमाडौं । चैत १०, छाता ओढेर पुराना जुत्ताचप्पल सिलाइरहेका भेटिन्छन् लहान–१ का ४७ वर्षीय शिवनारायण महरा चमार । पूर्व–पश्चिम राजमार्गको लहानस्थित मुख्य चोकमा सधैं बसेका हुन्छन् ।

 

२५ वर्षको उमेरदेखि जुत्ताचप्पल सिलाउने काम गर्दै आएका उनको दैनिकी अहिले पनि उस्तै छ ।

पेसा व्यवसाय सम्मानको हुनेछ । उनलाई लाग्छ, पेसा जे भए पनि उनी अब पहिलेभन्दा आत्मसम्मानका कुरा निर्धक्क बोल्न सक्छन् ।

राजमार्गमै जोडिएको लहान–१ स्थित चमार बस्ती २०५६ चैत ९ मा घेराबन्दीमा परेका थियो । दुई सय घर दलित समुदायको बसोबास रहेको बस्ती नाकाबन्दीमा पर्‍यो ।

सोही वडाको मटियर्वामा अघिल्लो दिन पाडो मरेको थियो । त्यो फाल्न गाउँलेले नजिकका चमारहरूलाई अह्राए । तर चमारहरूले सिनो फाल्दैनौं भनेर इन्कार गरे । कथित उच्च जातका भनिनेहरूले दलित बस्तीलाई घेरामा पारे ।

अह्राएको नमानेको भन्दै कथित उपल्लो ११ जातिले चमारलाई ज्याला मजदुरीमा कसैले नखटाउने, पैंचो सापट वा ऋण नदिने, लहानमा कुल्ली तथा रिक्सा ठेला चलाउने काम गर्न नदिने, बसमा टिकट काट्ने बुकिङको काम, जुत्ता चप्पल सिलाउने काम, हली, गोठाले वा कुनै फर्ममा काम गर्न नदिने, कुनै पनि पसलमा कुनै सामान किन्न नदिने, कसैको जग्गामा टेक्न नदिने प्रतिबन्ध घोषणा गरे । चमार जातिलाई दास बन्न बाध्य पार्ने निर्णय गर्दै नाकाबन्दी लगाइयो ।

नाकाबन्दीबिरुद्ध चमार समुदाय आन्दोलनमा उत्रियो । अन्य दलित समुदायले समेत आन्दोलनमा साथ दिएपछि दुई साता लामो संघर्षपछि नाकाबन्दी स्वतः हटेको थियो । ‘२२ वर्षअघि चमार आन्दोलन हुँदा नाकाबन्दीमा परेको थिएँ, त्यतिखेर पनि यही चोकमा जुता–चप्पल सिलाएर गुजारा चलाउँथे,’ शिवनारायण भन्छन्, ‘अहिले पनि यही कामले गुजारा चलाइरहेको छु ।’ जुत्ता सिलाउने उनको पुर्ख्यौली पेसा हो ।

 

 

प्रकाशित : 24 March, 2022

प्रतिक्रिया दिनुहोस्