रुपन्देहीमा व्यवसायीले आफूखुसी बढाए इन्धनको मूल्य

सहयात्रा टिभी

काठमाडौं। चैत २८, सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् ।

नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलले निगमले तोकेको खुद्रा मूल्य भन्दा प्रति लिटर २० पैसा बढी लिएर बिक्री गर्न आफू मातहतका पेट्रोल पम्पहरुलाई पत्राचार नै गरेको छ । सोही अनुसार पम्पहरुले बढी मूल्यमा पेट्रोल बेच्ने गरेका छन् ।

आयल निगमको भलबारी डीपोबाट १५ किलोमिटर दूरीमा ५३ वटा बढी पेट्रोलपम्प रहेका निगमका कर्मचारी मनोहर डीसीले बताए ।

यी पेट्रोल पम्पमा निगमबाट मासिक सरदर १९ लाख १९ हजार ४ सय १४ लिटर पेट्रोल आपूर्ति हुने गरेको छ । यस हिसाबले सबै पम्पको बिक्रीबाट मासिक ३ लाख ८३ हजार ८ सय ८२ दशमलब ८ पैसा उपभोक्ताबाट बढी रकम असुलिएको देखिन्छ ।

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्