बौद्ध धर्मावलम्बीको सांस्कृतिक बाजागाजा बजाउँदै ‘गुँला पर्व’ सुरू

सहयात्रा टिभी

काठमाडौँ । साउन १३, उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । बाजागाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।

वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन चलिआएको छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवत्को नौ महिना, धर्म सञ्चय गर्ने महिनाका रुपमा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।

यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ। नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

हर्षउल्ल्सका साथ यस गुँला पर्व मनाउएमा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् ।
सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि भाषा वंशावलीका अनुसार स्वयम्भू महाचैत्यको निर्माण अघि नै पौराणिककामा राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलिआएको जनविश्वास छ ।

 

प्रकाशित : 29 July, 2022

प्रतिक्रिया दिनुहोस्