अर्थमन्त्रीको शफत ग्रहणमा अर्थसचिव मरासिनी नै अनुपस्थीत उनी किन फर्किन चाहँदैनन् ?
काठमाडौं । साउन १७, गएको आइतबार अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीको शफत ग्रहण गर्दै गर्दा अर्थसचिव मधुकुमार मरासिनी त्यस वखत पोखरा थिए । मन्त्रीको पदभार ग्रहण साँझ मात्र थियो ।
चाहेको भए मरासिनी तत्काल उनलाई स्वागत गर्न काठमाडौं आउनसक्थे । विहानैदेखि अर्थमन्त्री नियुक्तिको तयारीबारे खबरहरू आएकाले चाहेको भए उनी सडकबाटै २ सय किलोमिटर छिचोल्न उनलाई कठिन हुने थिएन । विमान चढेर आउन पनि सक्थे । तर सचिव मरासिनी आएनन्, राजस्व सचिव कृष्णहरि पुष्करले नवनियुक्त मन्त्रीलाई स्वागत गरे । मरासिनी यसकिसीमको कदमबाट अर्थमन्त्री जनार्दन शर्माको सचिव भएर काम गर्न असन्तुष्ट भएको अव्यक्त रुपमा बुझीन्छ ।
सचिव मरासिनी सामाजिक सञ्जाल ट्विटरमा नियमित रुपमा मन्त्रालयको गतिविधि अद्यावधिक गरिरहन्थे । तर उनले मन्त्री शर्मालाई बधाई पनि दिएका छैनन् । त्यस मामिलामा मौन बसेर ‘म सन्तुष्ट छैन है’ भन्ने सन्देश दिएका जस्तो देखिन्छ । संसदीय विशेष समितिमा दिएको प्रतिक्रियाबाट पनि अर्थसचिव मरासिनीको असन्तुष्टि बुझ्न सकिन्छ ।
करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप खेपिरहेका शर्मामाथि सीसीटीभी मेटेको भन्दै राजीनामा दिन दबाव पर्यो । संसदले छानबिनका लागि विशेष समिति नै बनाउने संकेत पाएपछि शर्माले २२ असारमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्न खोजेका थिए ।
तर सचिव मरासिनी आकस्मिक विदामा बसे । विदामा बस्नुको कारणबारे उनले ‘श्रीमती विरामी भएको’ भन्ने जानकारी दिए ।
जब शर्माले राजीनामा दिए, सचिव मरासिनी मन्त्रालयमा हाजिर भए । यसबारे उनलाई संसदीय विशेष समितिले समेत सोधेको थियो, ‘तपाईं त यो विषयमा विवाद आएपछि बिदामा पनि बस्नुभएको थियो । जनार्दन शर्मा मन्त्री हुँदासम्म नफर्कने भन्नुभएको थियो भनेर मिडियामा सुनिएको थियो । मन्त्रीले राजीनामा दिनुभएपछि भोलिपल्टै फर्कनुभयो फेरि । मन्त्रीले राजीनामा नदिँदा बिदा बस्नुपर्ने र राजीनामा दिएपछि फर्कने के कारण थियो ’
जवाफमा उनले मिडियामा विवाद आएपछि आफूले थेग्न नसकेको प्रतिक्रिया दिए । ‘विवाद मिडियामा आयो र त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा मलाई पनि धेरै नकारात्मक टीकाटिप्पणी आए,’ उनले जवाफमा भनेका छन्, ‘मानसिक रूपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो । सम्माननीय प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नुभएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो । देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन ।’
तर शर्मा अर्थमन्त्री हुञ्जेल विदामा बस्ने भनी दिएको अभिब्यक्तिको खण्डन गरेनन् । यी सबै घटनाक्रमले उहाँ कुनै पनि हालतमा अब अर्थमन्त्रालयमा बस्न नचाहेको उहाँले अन्यत्र सरुवा मागिसक्नुभएको बुझीन्छ ।
सहसचिवदेखि माथिका पदमा खटनपटन र पदस्थापनका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ । मरासिनी नफर्किएको अवस्थामा अर्का अर्थसचिव को भन्ने जिज्ञासा सुरु भएको छ ।
सचिवहरुको पदस्थापनामा अहिले क्लष्टर समूह छ । विभिन्न समूहका सचिवहरु सोही समूहको दरबन्दी हुने मन्त्रालयमा मात्रै पदस्थापना हुने व्यवस्था मिलाइएको छ । प्रशासन, इञ्जिनियरिङ, स्वास्थ्य, कानून, सरकारी वकिल, लेखापरिक्षण लगायतका समूहका सचिवहरु सम्बन्धित दरबन्दी रहेको निकायमा मात्रै सरुवा हुन्छन् । प्रशासन समूह अन्तर्गत परे पनि अर्थमन्त्रालयमा क्षेत्रगत विशिष्टता र प्राविधिक ज्ञान आवश्यक पर्ने हुनाले राजस्व वा अर्थप्रशासनमा अनुभव भएका सचिवहरु मात्रै खटाउने चलन छ ।