मकवानपुर–२ मा माओवादी केन्द्रबाट रामनारायण बिडारीको दावी

सहयात्रा टिभी

मकवानपुर । भदौ १४, आगामी प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले उम्मेदवारको दावी गरेका छन् । राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका बिडारीको आफ्नै जन्मस्थान समेत रहेको सो क्षेत्रबाट आगामी निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

उम्मेदवारी दिने उनको चाहनालाई माओवादी केन्द्रको उच्च नेतृत्वले पनि सकारात्मक रुपमा लिएपछि बिडारी जिल्लामा चुनावी माहोल बनाउन खटिएका छन् । जिल्लामा रहेका पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु, पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटलाई उनले तीब्र बनाएका छन् ।

गठबन्धन दलबाट आफू उम्मेदवारको दावेदार रहेको र आफूले त्यही अनुसार तयारी गरेको विडारीले बताए । उता नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाको पनि सोही निर्वाचन क्षेत्र रहेको छ । खतिवडा सो निर्वाचन क्षेत्रबाट हालसम्म ५ पटक चुनाव लडेको भन्दै यो निर्वाचनमा खतिवडाले आफूलाई सघाउने विश्वास लिएको विडारीले बताए ।
उनले भने–‘यो क्षेत्रबाट म २०४८ सालमा पहिलो पटक चुनाव लडेको थिएँ, त्यसपछि चुनाव लडेको छैन् । बिरोधजी त ५ पटक लडिसक्नुभयो । मेरो जन्मघर, पढाइघर, हुकाईघर मेरो यही क्षेत्र हो । यो पटक प्रत्यक्ष तर्फ चुनाव लड्ने सोचाई बनाएको छु ।’

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले हाल नेकपा एकीकृत समाजवादीमा रहेका खतिवडालाई सहयोग गरेकोमा यस पटकको गठबन्धनमा उनले बिडारीलाई सहयोग गर्ने माओवादी केन्द्रले अपेक्षा गरेको छ । राष्ट्रिय सभा सदस्य रहँदा प्रखर रुपमा राजनीतिक, सामाजिक, आर्थिक विकृति, विसंगती बिरुद्ध कडा र पृथक रुपमा अभिव्यक्ति दिएर नागरिकको मन जित्न सफल बिडारी जनमुखी थाहा आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

उनले पहिलो पटक २०४८ सालमा थाहा आन्दोलनबाट चुनाव लडेका थिए । त्यतिबेलाको चुनावमा हिरण्यलाल श्रेष्ठ विजयी भए भने उनले निकटतम प्रतिस्पर्धाको रुपमा दोश्रो स्थानको मत पाएका थिए । त्यसयता उनले प्रत्यक्ष उम्मेदवारी दिएर चुनाव लडेका छैनन् । सो क्षेत्रमा आफ्नो तर्फबाट सामाजिक काम, राजनीतिक कामलाई निरन्तरता दिँदै आएका बताएका विडारीले यो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ अगाडि बढेको उल्लेख गरे । यो निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहहरुमा ५ वटा पालिका उपाध्यक्ष र थाहा नगरपालिकाको प्रमुख सहित ३ जना प्रमुख पद माओवादीको छ ।

प्रकाशित : 30 August, 2022

प्रतिक्रिया दिनुहोस्