देशभर मौसम बदली, लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशैभर मौसम बदली रहने जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । अहिले बिहान प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्