वर्षाका कारण नेपालका विभिन्न बस्ती डुबानमा परी जनजीवन कष्टकर

काठमाडौ । असोज २३, लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको जनाएको छ ।
चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेको जानकारी प्राप्त भयो । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गएको मंगलवार बेलुकीदेखि परेको वर्षाले गर्दा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् ।
आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।