सेयर कारोबारको पहिलो दिन २.४१ प्रतिशतले बढ्यो नेप्से
सहयात्रा टिभी
काठमाडौ । असोज २३, दशैं बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ । दशैं बिदाका कारण लगातार ९ दिन बन्द भएर आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ४४.६२ अंकले वृद्धि हुँदा १८९८.३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ ।
आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन ।
आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ ।