आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको अपूर्व क्षितिजको बयान

काठमाडौँ । कात्तिक ३, नेवाः समुदायको भावनामाथि चोट पुर्याएको अभियोगमा दुई पटक प्रहरी नियन्त्रणमा परेका कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको बताएका छन् ।
जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको बताएका छन् । तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हराएको उनले न्यायाधीशसमक्ष बताएका छन् ।
उनले ती शब्दहरु मनोरञ्जनका लागि मात्रै प्रयोग गरेको भनेका छन् । अपूर्वले भिडियोमा नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रहनसहनसमेतलाई अमानवीय व्यवहार गरेको भन्दै पृथविन्द महर्जनसहित ११ जनाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा संयुक्त निवेदन दिएका थिए ।
निवेदनमा महर्जनले ‘कमेडीको नाममा होच्याउने, नेवारी खानाका परिकारलाई लिएर धज्जी उडाउने, बेल विवाह जस्तो पवित्र धार्मिक संस्कृतिलाई जोडेर नारी अस्मितामाथि प्रहार गरेको’ भनिएको छ ।
निवेदनमा अपूर्वले कमेडीमा प्रयोग गरेको ‘तपाईंको श्रीमान् मरिसक्यो, तपाईंको श्रीमान त दजारमा छ, श्रीमान त मक्की सक्यो, विधुवा भइसक्यो, चुरा फुटाउनु’ जस्ता शब्द प्रयोग गर्नुले आफूहरुको भावनामा आँच पुगेको भनिएको छ । उनीहरुले अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसूरमा पनि अर्को निवेदन दिएका थिए ।
अपूर्वविरुद्ध सामाजिक रीतिस्थिति र सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोग पनि लगाइएको थियो । प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेर झण्डै दुई साता हिरासतमा राखेको थियो । तर, भिडियो डिलिट गर्दा पनि प्रतिसोध साँधेर हिरासतमा राखिएको भन्दै विरोध भएपछि जाहेरीकर्ता र सिंहको परिवारबीच छलफल भएको थियो ।
तीब्र दबावबीच अपूर्वलाई २३ भदौ २०७९ मा कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यसपछि सरकारी वकिलको रोहबरमा छाडिएको थियो । तर, ३१ असोजमा उनलाई पुनः प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो ।