ब्याजदर दोब्बर गरेर आतङ्क फैलाएको भन्दै व्यवसायीले सडक आन्दोलन सुरु

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १८, ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् । ब्याजदर घटाउने लगायतका माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा उद्योगी, व्यवसायीले आज शुक्रवार काठमाण्डौको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतङ्क फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले देशको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अङ्कको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

उहाँले स्वदेशी उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेर देशमा अनधिकृत व्यापार फस्टाएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ ।

६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् ।

विरोध प्रदर्शनमा महासङ्घ अन्तर्गतका सबै उद्योगी, व्यवसायी सहभागी भएका थिए । उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अङ्कभन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्