एशियाली विकास बैंकले ओखर र फलफूल खेती सुधारका लागि ९ अर्ब लगानी गर्ने
काठमाडौँ । कात्तिक २१, नेपाल सरकार र एशियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजातिको खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख रहेको छ ।
ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् ।
ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ सचिव पुस्करले एशियाली विकास बैंकले विगतदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको स्मरण गर्दै अझै सहयोगको अपेक्षा राखेको बताए ।