अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारीमा खुलामञ्चको सरसफाइ
सहयात्रा टिभी
काठमाडौँ । कातिक २८, काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ ।

बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरका मेयर बालेन्द्र साह (बालेन) का पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए ।
महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
महानगरको मातहत पर्ने खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो । त्यस यता बन्द रहेको खुलामञ्चमा दशैं तिहार अवधिभर चार पाङ्ग्रे सवारी पार्किङ गर्न दिइएको थियो । हाल खुलामञ्च बन्द अवस्थामै रहेको छ । बजेटमै आइसकेकोले महानगरले आन्तरिक तयारी गरिरहेको छ ।


