नेपाल सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र ऋण उठाउन स्रोत अभाव

सहयात्रा टिभी

काठमाडौं । कातिक २९,  चालु आर्थिक वर्ष (आव) २०७९र८० मा नेपाल सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र ऋण (आन्तरिक ऋण) उठाउन स्रोत अभाव हुने देखिएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकसँग सापटी लिएर बैंकहरुले सरकारलाई ऋण उपलब्ध गराउनुपर्ने सम्भावना छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटमा लिएको उद्देश्य पुरा गर्नका लागि आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले (आन्तरिक ऋण) उठाउने तालिका सार्वजनिक गरिसकेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको राष्ट्र ऋण उठाउने तालिका अनुसार २५६ अर्ब मध्ये ६ अर्ब रुपैयाँ वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रको माध्यमबाट उठाउने लक्ष्य राखिएको छ । बाँकी रहेको २५० अर्ब राष्ट्र ऋण ट्रेजरी बिल र विकास ऋणपत्रको माध्यमबाट नै उठाउने लक्ष्य राखिएको छ ।

विकास ऋणपत्र र ट्रेजरी बिलमार्फत उठाउने लक्ष्य लिएको आन्तरिक ऋणमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाकै हिस्सा मुख्य हुने पूर्वबैंकर भुवन दाहाल बताउँछन् ।

अर्थमन्त्रालयको २०७९ असार मसान्तको तथ्यांकअनुसार सरकारको कुल आन्तरिक ऋण ९ खर्ब ८६ अर्ब ११ करोड छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरुको लगानी मात्रै ९ खर्ब ९ अर्ब ७८ रहेको छ । यसले सरकारको आन्तरिक ऋणमा बैंक तथा वित्तीय संस्थाको लगानीको हिस्सा ९० प्रतिशतभन्दा माथि हुने गरेको देखाउँछ ।

 

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्