अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

सहयात्रा टिभी

काठमाडौ । कातिक ३०,देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल बिक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा.३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ५० ग्राम खैरो हेरोइनसहित भारत बहराईच बाबागन्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट ६४ मिलिग्राम ब्राउनसुगरसहित भीमदत्त नगरपालिका–६ बस्ने २२ वर्षीय मोहितलाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाइन्टको इजारमा लुकाई राखेको उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित : 16 November, 2022

प्रतिक्रिया दिनुहोस्