अन्तर्राष्ट्रिय सेलिब्रिटी पर्यटकहरुको आगमनले पर्यटन व्यवसाय पुनरुत्थानको संकेत

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, पछिल्लो तीन महिनायता नेपालमा पर्यटक आगमन संख्या मासिक ५० हजार भन्दा माथि छ । सन् २०२२ को ११ महिनाको तथ्यांक विश्लेषण गर्दा प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएका छन् ।

अक्टुबर २०२२ मा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका थिए । नेपालमा निर्वाचनको तयारी भइरहेको समयमा पनि नोभेम्बरमा ७२ हजार ६५३ जना पर्यटक नेपाल आए । सन् २०२० र २०२१ मा पर्यटक आगमनमा प्रतिबन्धका कारण कुनै महिना शून्यमा समेत झरेको अवस्था थियो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने यो तथ्यांकलाई सकारात्मक संकेतका रुपमा व्याख्या गर्छन् । उनका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सन् २०२२ मा सन् २०१९ को तुलनामा विश्वभर ६०–६३ प्रतिशतको बीचमा पर्यटक आगमनमा पुनरुत्थान हुने अनुमान गरेको थियो ।

नेपालमा समेत सोही दरमा आगमनदर सुधार भइरहेको उनले बताए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कूल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् ।

यस अनुसार प्रतिमहिना औसतमा ४९, ६५६ जना पर्यटक नेपाल आएका छन् । नोभेम्बर २०२२ को एक महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ को तुलनामा ५५।७६ प्रतिशत रिकभर भएको बोर्डको भनाइ छ ।

सन् २०१९ मा कोभिडको प्रभाव पर्यटनमा थिएन । सो वर्ष नोभेम्बर महिनामा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका थिए । अक्टुबर २०२२ मा भने ८५ हजार २२६ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

यसरी नेपाल आउनेमा साहसिक गतिविधिमा आउने पर्यटकको संख्या अधिक रहेको निर्देशक लामिछाने बताउँछन् । पर्वतारोहण र पदयात्राको प्रयोजनका लागि कोभिड तथा डेंगुका बाबजुत धेरै पर्यटक आएका हुन् ।

 

प्रकाशित : 7 December, 2022

प्रतिक्रिया दिनुहोस्